सुपर लिगमा मकवानपुरका पाँच खेलाडी छनौट

तु खबर संवाददाता
२०७७ चैत्र ७, शनिबार १०:१७

मकवानपुर । नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिगमा मकवानपुरका ५ जना खेलाडीहरु अक्सन मार्फत छनौट भएका छन् ।

शुक्रबार काठमाडौंमा भएको अक्सनमा मकवानपुरका सुनिल बल, अमिर श्रेष्ठ, रञ्जन विष्ट, बिमल पाण्डे र रोहित कार्कीलाई अक्सन मार्फत विभिन्न क्लबले लिएका छन् ।

सुनिल बल ए ग्रेडका खेलाडी हुन् । आधार रकम १ लाख रुपैयाँ भए पनि सुनिल बल अधिकतम २ लाख रुपैयाँमा बिक्री भएका छन् । उनलाई विराटनगर सिटि एफसीले लिएको छ । सुनिल बलले पछिल्लो ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेलेका थिए ।

बी श्रेणीका अमिर श्रेष्ठले पनि अधिकतम मूल्य १ लाख २० हजार रुपैयाँ पाएका छन् । उनलाई बुटवल लुम्बिनी एफसीले गोलाप्रथाबाट भित्र्याएको छ । च्यासलबाट ए डिभिजन लिग खेलेका अमिरले अहिले हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय गोल्डकपमा आयोजक मकवानपुर–११ बाट खेलिरहेका छन् ।

यस्तै, नेपाल आर्मीबाट ए डिभिजन लिग खेलेका डिफेन्डर विमल पाण्डेलाई काठमाडौंले भित्र्याएको छ । उनी सी श्रेणीका खेलाडी हुन् । सी श्रेणीको आधार रकम २० हजार रुपैयाँ भए पनि काठमाडौंले अधिकतम मूल्य ७५ हजार रुपैयाँ तिरेर उनलाई भित्र्याएको हो । उनलाई चितवन र पोखराले पनि अधिकतम मूल्य दिन तयार भए पनि गोलप्रथाबाट उनी काठमाडौंका लागि छनौट भएका छन् ।

मनाङ मस्र्याङ्ग्दी क्लबबाट ए डिभिजन क्लब लिग खेलेका रञ्जन विष्टलाई ललितपुर सिटि एफसीले लिएको छ । बी श्रेणीका उनलाई आधार मूल्य ५० हजार रुपैयाँमा ललितपुरले भित्र्याएको हो । यस्तै, संकटा क्लबबाट खेल्ने गाले रक्षक रोहित कार्कीलाई पनि ललितपुरले लिएको छ । सी ग्रेडका उनलाई ललितपुरले आधार मूल्य २० हजार रुपैयाँमा खरिद गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*