फुटबल संघ मकवानपुरद्वारा २७ जना खेलाडीको विदाई

तु खबर संवाददाता
२०८० श्रावण १०,बुधबार ०९:०९

मकवानपुर । फुटबल संघ मकवानपुरले राष्ट्रिय टिम तयारीका लागि यु–१६ फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत् प्रदेश छनौट खेल्नका लागि मकवानपुरका खेलाडीहरुलाई विदाई गरेको छ ।

संघले मंगलबार जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई विदाई गरेको हो ।

प्रदेश छनौटका लागि मकवानपुरबाट २७ जना खेलाडीलाई विदाई गरिएको हो । बागमती प्रदेशको छनौट खेल काठमाडौंमा हुनेछ ।

जिल्लामा पहिलो चरणको छनौटमा परेका खेलाडीहरुले बुधबार र बिहिबार दोस्रो चरणमा प्रदेशस्तरीय छनौटमा सहभागी हुनेछन् ।

यु–१६ फुटबल प्रतियोगिता आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुँदैछ । त्यसका लागि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनौट प्रक्रियाबाट अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय टिम तयार पार्ने योजना बनाएको छ ।