ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी
काठमाडौं । नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन्। १३ वर्षदेखि पार्टी एकताका लागि आफूले पहल गरे पनि विभाजन हुन तीन वर्ष पनि नलागेको भन्दै उनले दुखेसोसमेत गरेका छन्।
‘हाम्रो पार्टीमा उत्तर र दक्षिणतिर दुईवटा हेर्डक्वार्टर थिए। उत्तरतिरको हेर्डक्वार्टरबाट निर्देशितहरू मकहाँ आउँछन्। हामीतिर आउनपर्यो भन्छन्। दक्षिणतिरबाट पनि आउँछन्। माले हुँदा मसँग भएका साथीहरू आउँछन्, त्यस्तै कुरा गर्छन्। तर म कतै नलागी जुटाउनेतिर लागेको छु’, उनले बुधबार ललितपुरमा आयोजित अभियान घोषणा कार्यक्रममा भने, ‘प्रतिनिधिसभा पुनःस्थापना भइदिए हुन्थ्यो भन्ने छ। प्रतिनिधिसभा पुनःस्थापना भयो भने हामीलाई दुई वर्ष समय प्राप्त हुन्छ।
त्यो दुई वर्षमा दुवै समूहलाई म ल्याउँछु। केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्नथ्यो। म हुँदा प्रचण्डजी एकताको पक्षमा हो। अहिले उहाँहरू दुईतिर फर्कनु भएको छ। म जान्छु र केपी ओलीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपी ओलीतिर फर्काइदिन्छु। त्यो तागत मसँग छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
