नयाँबस्तीवासी भन्छन्ः हामीलाई यही स्थानमा घर बनाउन देउ

बलराम पुडासैनी
२०७७ माघ १४, बुधबार १९:००

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ का बाढी प्रभाबित चेपाङ/तामाङ समुदायले सुरक्षित र दीगो आवासको व्यवस्था मिलाइदिन सरकारसंग माग गरेका छन् ।

२०७४ साल साउन २७ र २८ गतेको बाढीको कारण घरबार बिहिन बनेका लाम्पाखा, चुवारपाखा, अजिंगरे, चिसापानीलगायत बस्तीका उनीहरु अहिले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स–साना घर तथा टहरो बनाएर बसोबास गर्दै आएका छन् ।

उनीहरुलाई निकुञ्जले वनलाई अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन बारम्बार दबाब दिने गरेको छ ।

मध्येवर्ती क्षेत्रको वनमा अतिक्रमण गरेर बस्ती बसालेको कारण उनीहरु सरकारको सेवा सुविधाबाटसमेत बञ्चित हुनुपरेको छ । भुकम्पको लाभग्राही सूचिमा परेका स्थानीयहरुले पनि वन क्षेत्रमा बसोबास गरेका कारण भवन निर्माणका लागि सम्झौता गर्न पाएका छैनन् ।

भुकम्पको लाभग्राही सूचिमा परेका १ सय ४३ परिवारलाई सम्झौताका लागि सिफारिस गर्न कानूनी अड्चन आएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

जंगलको बीचमा बसेको अस्थायी बस्तीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिन उनीहरुले माग गरिरहे पनि निकुञ्ज प्रशासनले भने कुनैपनि हालतमा बस्ती उठाउने दावी गरिरहेको छ ।

हाल बसोबास गरिरहेको क्षेत्रमा जंगली जनावर तथा खजुरो, बिच्छी, सर्पको त्रास हुनुको साथै खानेपानी, विजुली बत्तीको पहुँचको विस्तार भइसकेको छैन । बस्तीको स्थायित्वको टुंगो नलाग्दै गाउँपालिकाले विजुलीको पोल गाढ्न थालेको छ ।

उक्त क्षेत्रको बस्ती विकास गर्न चालु आर्थिक वर्षमा गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको भएपनि कानूनी जटिलताका कारण सो रकम खर्च गर्न नसकिएको अध्यक्ष उप्रेती बताउँछन् ।

गाउँपालिकाले यही बस्तीलाई बैज्ञानिक रुपमा व्यवस्थित गरेर बस्ती स्थायित्वको लागि सरोकारवाला निकायमा आग्रह गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

पुननिर्माण प्राधिकरण टोली नयाँबस्तीमा

राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्राविधिकसहितको टोलीले बुधबार नयाँबस्तीको अनुगमन गरेको छ ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, मनहरी –४ का वडाअध्यक्ष धु्रव खड्का, पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, जिल्ला आयोजना कार्यान्वयन इकाइका कर्मचारीलगायतले अनुगमन गरी चाँडो भन्दा चाँडो उक्त बस्तीको समस्यालाई निकास दिनुपर्ने बताएका छन् ।

टोलीसमक्ष वडा सदस्य विष्णु प्रजा, स्थानीय रामबहादुर प्रजाले नयाँ ठाउँमा बस्ती स्थानान्तरण गर्नुभन्दा सोही स्थानमा स्थायित्व हुनेगरी निर्णय गर्न माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*