सरकारी जग्गा हस्तान्तरणमा रोक

पत्रपत्रिका
२०७७ मंसिर १७, बुधबार ०८:०८
file-photo

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको छ ।

मन्त्रालयले मंगलबार सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकालाई परिपत्र गरेर पालिका तहबाट गरिने सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचबिखन, वितरण र उपयोगमा दिनेजस्ता निर्णय प्रचलित कानुनविपरीत हुने ध्यानाकर्षण गराएको छ ।

आफ्नो क्षेत्रमा रहेको सरकारी, सार्वजनिक जग्गालाई पालिकाले निर्णय गरेर विभिन्न संघसंस्थालाई उपयोगका लागि दिने गरेका छन् । कतिपयले व्यक्तिलाई समेत लिजमा दिने गरेका थिए । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सरकारी, सार्वजनिक जग्गाका विषयमा निर्णय लिने अधिकार संघ सरकारलाई मात्रै रहेकाले त्यस्ता जग्गा पालिकाको निर्णयका आधारमा कसैलाई उपयोगका लागि दिनु वा हक हस्तान्तरण गरिनु गलत भएको बताए ।

‘त्यस्ता काम तत्काल रोक्न, पालिकाबाट गरिएका निर्णय कार्यान्वयन नगर्न भनेका छौं,’ उनले भने ‘सरकारी सम्पत्ति संरक्षणको जिम्मेवारी स्थानीय तहको हो तर त्यसलाई हस्तान्तरण गर्न मिल्दैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*