लोक सेवाको सहसचिव र उपसचिवको दरखास्त रोकियो

तु खबर संवाददाता
२०७७ कार्तिक २०, बिहीबार ०८:३८

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका विभिन्न विज्ञापनको दरखास्त लिने कार्य स्थगन गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै अदालतको आदेश कार्यान्वयनका लागि अर्को सूचना प्रकाशन नभएसम्मका लागि दरखास्त लिने कार्य स्थगन गरिएको जनाएको हो ।

आयोगले आफ्नो नियमित वार्षिक क्यालेन्डरअनुसार असोज २८ मा सहसचिव र उपसचिवका रिक्त पदहरूको पूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको पदमा केही लुकाएर मात्रै विज्ञापन गर्न लगाएको भन्दै अदालतमा रिट परेको थियो । त्यही रिटको सुनुवाइ गर्दै अदालतले दरखास्त संकलन कार्य स्थगन गर्न आदेश गरेको हो ।

प्राविधिक, अप्राविधिक तथा स्वास्थ्यतर्फका करिब ४ सयभन्दा बढी पदका लागि विज्ञापन खुलाइएको थियो । त्यसको दोब्बर दस्तुर तिरेर फारम बुझाउने म्याद बाँकी रहेकै बेला प्रक्रिया रोकिएको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बढुवातर्फको कार्यक्षमता, कार्यसम्पादन मूल्यांकन, आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशीसहितका पदको दरखास्त संकलन स्थगन गरिएको बताए । आयोगले यसअघि सबै प्रकारका लिखित परीक्षाका कार्यक्रम स्थगन गरेको थियो ।

आयोगले बनाएको कोरोना संक्रमितले परीक्षा दिन नपाउने मापदण्ड विवादमा तानिएपछि लिखित परीक्षालाई लिएर विरोध सुरु भएको थियो । सर्वोच्च अदालतले मापदण्डको त्यस्तो व्यवस्था हटाउन आदेश गरेको थियो । कात्तिक १६ गतेबाट विभिन्न विज्ञापनका लिखित परीक्षाहरू सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको आयोगले कात्तिक ३ मा सूचना प्रकाशित गर्दै सम्पूर्ण परीक्षा स्थगन गरिएको जनाएको थियो ।

यसैबीच, कात्तिकको अन्तिम बुधबार नियमित क्यालेन्डरअनुसार प्राविधिकतर्फका अधिकृतहरूको रिक्त पदको विज्ञापन गर्ने आयोगको कार्यतालिका छ । त्यसका लागि सामान्य प्रशासन मन्त्रालयले सबै निकायसँग प्राविधिक अधिकृतहरूको रिक्त दरबन्दी माग गरिसकेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*