कोरियामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम

तु खबर संवाददाता
२०८३ भाद्र २१, आईतवार १५:५८

दक्षिण कोरिया । दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकलाई स्वास्थ्य, मानसिक सुख–शान्ति तथा कार्यस्थलमा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउने उद्देश्यले मोक्पोस्थित एचडी हुन्डाइ साम्हो कम्पनीमा विशेष सचेतना कार्यक्रम आयोजना गरिएको छ।

नेपाली राजदूतावास र एचडी हुन्डाइ साम्हो कम्पनीको संयुक्त आयोजनामा भएको कार्यक्रममा दुई सयभन्दा बढी नेपाली श्रमिक सहभागी भएका थिए। कार्यक्रममा स्वस्तिक हिमालयन ग्रुप प्रालि, काठमाडौंले सहयोग गरेको थियो।

कम्पनीको आग्रहमा आयोजना गरिएको कार्यक्रममा नेपाली श्रमिकका लागि दूतावासबाट उपलब्ध सेवा तथा सुविधाका साथै श्रमिकका अधिकार र हितसँग सम्बन्धित विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा नेपाली राजदूतावासका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराई र श्रम काउन्सेलर मैया कडेलले श्रमिकका समस्या तथा गुनासो सम्बोधनका लागि दूतावासबाट उपलब्ध सहयोग र सेवाका विषयमा जानकारी दिएका थिए।

यस्तै, योग तथा ध्यान प्रशिक्षक एवं हेल्थ ह्यापिनेस प्रशिक्षक सिमोन न्यौपानेले मानसिक तनाव व्यवस्थापन, शारीरिक तथा मानसिक स्वास्थ्य, मानसिक शान्ति र सकारात्मक जीवनशैलीका विषयमा श्रमिकलाई प्रशिक्षण दिएका थिए।

विदेशमा काम गर्ने क्रममा परिवारबाट टाढा रहनुपर्ने अवस्था, कामको दबाब तथा विभिन्न व्यक्तिगत समस्याका कारण उत्पन्न हुन सक्ने मानसिक तनावलाई समयमै पहिचान गरी त्यसको व्यवस्थापन गर्नुपर्नेमा प्रशिक्षणका क्रममा जोड दिइएको थियो।

कार्यक्रममा कार्यस्थलमा हुन सक्ने अपराध तथा त्यसको न्यूनीकरणका उपायबारे कम्पनीका व्यवस्थापक एजिन तामाङले समेत प्रस्तुति दिएका थिए।

नेपाली श्रमिकको स्वास्थ्य र सुरक्षासँगै कार्यस्थलमा सकारात्मक वातावरण निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम श्रमिकको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो।