असारमै घरजग्गा कारोबारको उछाल, सरकारलाई झन्डै १२ अर्ब राजस्व

तु खबर संवाददाता
२०८३ श्रावण ४, सोमबार १०:५०

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबारबाट सरकारलाई ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व प्राप्त भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो रकम उक्त आर्थिक वर्षभरकै सबैभन्दा बढी मासिक राजस्व संकलन हो।

विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षभर घरजग्गा कारोबारबाट संकलित राजस्वमध्ये दोस्रो उच्च रकम वैशाख महिनामा प्राप्त भएको थियो। त्यस महिनामा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ राजस्व संकलन भएको थियो।

आर्थिक वर्षको सुरुवाती महिना साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ राजस्व संकलन भएको थियो भने भदौमा यो रकम घटेर ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ मा सीमित भएको थियो। असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ राजस्व संकलन भएको विभागले जनाएको छ।

मङ्सिरमा राजस्व बढेर ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ पुगेको थियो। पुसमा ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२, माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६, फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ तथा चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व संकलन भएको थियो। त्यसपछि जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ सरकारको खातामा जम्मा भएको थियो।