उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ विजयी

तु खबर संवाददाता
२०८३ बैशाख २३, बुधबार ०८:५७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको अधिकांश परिणाम सार्वजनिक भएको छ। मंगलबार सम्पन्न मतदानपछि वस्तुगत, जिल्ला–नगर तथा एसोसिएट समूहका धेरै पदहरूको टुंगो लागेको हो भने केही पदमा प्रतिस्पर्धा जारी रहेको छ।

वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी शिव घिमिरेलाई अत्यन्तै कम मतान्तरले पछि पार्दै जित हात पारे। प्राप्त मतअनुसार श्रेष्ठले ६३ मत पाए भने घिमिरेले ६० मतमा सीमित भए। जिल्ला–नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ र श्रेष्ठले ८० मत ल्याउँदै आफ्नो पक्ष बलियो बनाएका हुन्। यसै पदका अन्य उम्मेदवार उमेश डालमिया र कल्पना गैह्रै भने सफल हुन सकेनन्। यता एसोसिएट उपाध्यक्ष पदको अन्तिम नतिजा आउन बाँकी छ जहाँ प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ।

एसोसिएट सदस्यतर्फ १७ सिटका लागि भएको प्रतिस्पर्धामा सचिन ढकाल सबैभन्दा बढी १३१८ मतसहित अग्रस्थानमा निर्वाचित भए। उनका साथमा हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ र शक्ति कुमार बेगानी लगायतका उम्मेदवारहरूले पनि उल्लेख्य मतसहित जित सुनिश्चित गरेका छन्। यसैगरी ऋषि अग्रवाल, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वरबहादुर जीसी, सुरज उप्रेती, कृष्णलाल महर्जन र डा. रामशरण थपलियाले पनि कार्यसमितिमा स्थान बनाएका छन्।

जिल्ला–नगर खुला सदस्यतर्फ १५ जना उम्मेदवार विजयी भएका छन्। अर्जुन कुमार श्रेष्ठ, प्रयास कार्की, लक्ष्मणराज पौडेल र छत्रधर आत्रेय, कृष्ण कटुवाल, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दिपक नेपाल, केशव प्रसाद भण्डारी, गोकुल श्रेष्ठ, हरि प्रसाद अर्याल, तारा बहादुर कार्की, शंकर गिरी, उज्वल प्रसाद कसजु र सुदर्शन गिरीले जित हासिल गरेका हुन्। यस समूहबाट गीता अमात्य र हीरा भट्टराई महिला सदस्यमा निर्वाचित भएका छन्। वस्तुगत सदस्यतर्फ १३ जना चयन भएका छन् जसमा अरनिको राजभण्डारी सबैभन्दा बढी ७० मत ल्याउँदै अग्रस्थानमा रहे। उनीसँगै विदुर धमला, सागर ढकाल, रविन पुरी, राजकुमार कार्की, पशुपति देव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानिराज घिमिरे, संघर्ष विष्ट र होमप्रसाद घिमिरे विजयी भएका छन्। महिला सदस्यतर्फ सुनिता न्हेम्हाफुकी ५४ मतसहित निर्वाचित भइन्।

यसैबीच वस्तुगत सदस्यको दुई स्थानका लागि चार उम्मेदवारबीच मत बराबरी भएपछि निर्णय चिठ्ठा प्रणालीबाट गरिने भएको छ। सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेले समान मत ल्याएपछि अब भाग्यको भरमा विजेता तय हुने स्थिति बनेको हो। अन्यतर्फ द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल निर्वाचित भएका छन् भने वस्तुगत महासंघ समूहबाट सुनयना घिमिरे र विश्वनाथ खनालले जित हात पारेका छन्।