तामाकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यु, ६ जना घाइते

तु खबर संवाददाता
२०८२ माघ २७, मंगलवार १२:१४

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट-मचानेटार क्षेत्रमा तामाकोशी नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको उक्त बस दुर्घटनामा परेर ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल तामाकोशी नदीमा खसेको हो । दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परेका ६ जना यात्रुलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । बस नदीमा डुबेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।