नाफा बुकिङ हाबी हुँदा नेप्से ४२ अंकले घट्यो, बजार फेरि राताम्मे
काठमाडौँ । लामो समयपछि आइतबार उल्लेख्य सुधार देखिएको शेयर बजार सोमबार सामान्य करेक्सनमा परेको थियो भने मंगलबार फेरि भारी गिरावटसहित राताम्मे बनेको छ । लगानीकर्तामा नाफा सुरक्षित गर्ने मनोवृत्ति हाबी हुँदा बजारमा दबाब बढेको हो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधिसँगै पूँजी बजारमा केही दिनयता उत्साह देखिएको थियो । लामो समयदेखि अन्योलमा रहेको राजनीतिक वातावरण स्पष्ट दिशातर्फ उन्मुख हुने अपेक्षाले बजारमा सुधार आएको थियो । तर बजार उकालो लाग्नासाथ नाफा बुक गर्ने प्रवृत्ति तीव्र बनेपछि पुनः उतार–चढाव देखिन थालेको छ । यसले लगानीकर्ता अझै पनि बजार दीर्घकालीन रूपमा मजबुत रूपमा बढ्छ भन्नेमा पूर्ण रूपमा विश्वस्त नभएको संकेत गर्छ ।
विशेषगरी निर्वाचनपछि बन्ने सरकार, आगामी अर्थमन्त्री को हुने र सरकारले अवलम्बन गर्ने आर्थिक तथा पूँजी बजारसम्बन्धी नीतिबारे स्पष्टता नआएकाले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । यही अनिश्चितताका कारण बजारमा स्थायित्व आउन नसकेको विश्लेषकहरूको भनाइ छ ।
यद्यपि, आधारभूत रूपमा शेयर बजारका लागि नीतिगत वातावरण भने सकारात्मक देखिन्छ । राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालयले पछिल्लो समय पूँजी बजारप्रति अपेक्षाकृत उदार नीति लिँदै आएका छन् । साथै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दो क्रममा रहनुले दीर्घकालीन लगानीकर्ताका लागि सकारात्मक संकेत दिएको छ । यी पक्षका कारण बजार दीर्घकालमा सुधारतर्फ उन्मुख हुने अपेक्षा गर्न सकिने विश्लेषण गरिएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा झरेको छ । यस दिन ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
आज कारोबार भएका १२ वटै उपसूचक राताम्मे बनेका छन् । वाणिज्य बैंक समूह १.४९ प्रतिशत, विकास बैंक १ प्रतिशत, फाइनान्स २.४४ प्रतिशत र होटल तथा पर्यटन समूह १.९० प्रतिशतले घटेका छन् । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।
मंगलबार ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा राधी विद्युत र एसवाई प्यानलका शेयर सर्वाधिक कारोबार भएका छन् ।
