उच्च कारोबारका बीच नेप्से करेक्सनमा, १६ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । शेयर बजारमा पछिल्लो समय देखिएको करेक्सनलाई लगानीकर्ताले सामान्य र स्वाभाविक प्रक्रियाका रूपमा लिएका छन्। आइतबार बजारमा हरियाली आएपछि सोमबार नाफा बुकिङ बढ्दा नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको हो। बजार करेक्सन हुँदै अघि बढे दीर्घकालीन रूपमा अझ दिगो बन्ने विश्वास लगानीकर्तामा देखिएको छ।
देश प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोलसँगै पूँजी बजारमा पनि नयाँ उत्साह देखिन थालेको छ। निर्वाचनको मिति फागुन २१ तय भएसँगै उम्मेदवारी दर्ता सम्पन्न भई चुनावी अभियान तीव्र बन्दा लामो समयदेखि रहेको राजनीतिक अनिश्चितता क्रमशः हट्दै गएको अनुभूति भएको छ। यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा सकारात्मक रूपमा परेको देखिन्छ।
केही महिनाअघि जेन–जी जनआन्दोलनपछि बनेको नागरिक सरकारले समयमै निर्वाचन गर्न नसक्ने आशंकाले बजारमा दबाब सिर्जना भएको थियो। राजनीतिक अनिश्चितताका कारण नेप्से निरन्तर ओरालो लाग्दा कारोबार रकम दैनिक ३–४ अर्ब रुपैयाँमा सीमित थियो। तर अहिले दलहरू निर्वाचनको मैदानमा उत्रिएसँगै राजनीतिक संक्रमणको निकास देखिन थालेपछि बजारमा सुधार आएको छ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा कायम भएको छ। आज ३३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ पुगेको छ।
यस दिन ९ उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.१६ प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, फाइनान्स ०.४५ प्रतिशत, इन्भेष्टमेन्ट ०.५५ प्रतिशत र जीवन बीमा समूह ०.५३ प्रतिशतले घटेका छन्। बजारमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकमतर्फ हिमालयन पावर पार्टनरको सबैभन्दा बढी ६५ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसपछि आँखु खोला जलविद्युतको ५६ करोड १६ लाख, मन्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केबलकारको ४० करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।
यसैदिन एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउण्टेन हाइड्रो नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बीचबीचमा देखिने करेक्सन स्वाभाविक भए पनि समग्र प्रवृत्तिले शेयर बजार दीर्घकालीन सुधारतर्फ अघि बढेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
