नेपाल-साउदीबीच साधारण श्रमिकका लागि श्रम सम्झौता

तु खबर संवाददाता
२०८२ माघ १२, सोमबार १०:११

काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित साउदी अरबको राजधानी रियादमा सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्।

करिब एक दशक लामो प्रयासपछि नेपाल र साउदी अरबबीच औपचारिक श्रम सम्झौता टुंगोमा पुगेको हो। नेपालले २०७० सालदेखि नै साउदीसँग श्रम सम्झौताको पहल गर्दै आए पनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन। गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएपछि अन्ततः सम्झौता कार्यान्वयनको चरणमा पुगेको हो।

सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले सम्झौताले नेपाली श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी हुने विश्वास व्यक्त गरे।

सम्झौतामा श्रमिकका सेवा सुविधा, काम गर्ने अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणजस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

हाल साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले न्यूनतम तलब नपाउने, करारपत्र परिवर्तन गरिने, घर फर्किन नदिने तथा उपचारमा लापरवाही हुनेजस्ता समस्या भोग्दै आएका छन्। नयाँ श्रम सम्झौताले यस्ता समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ लाख ५२ हजार, २०८०/०८१ मा १ लाख ४१ हजार ५०१ र २०७९/०८० मा १ लाख ११ हजार ८४३ जना नेपाली श्रमिक रोजगारीका लागि साउदी अरब गएका थिए। साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकमध्ये एक भएकाले यो सम्झौता महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।