राजनीतिक स्थिरताको अपेक्षाले शेयर बजारमा नयाँ ऊर्जा

तु खबर संवाददाता
२०८२ माघ ११, आईतवार १५:२१

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार शेयर बजारमा उल्लेखनीय उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुमा पुगेको छ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक वातावरण स्पष्ट बन्दै गएको प्रभाव पूँजी बजारमा देखिएको विश्लेषकहरू बताउँछन् ।

आइतबार शेयर बजारमा पछिल्लो ६ महिनायताकै उच्च कारोबार भएको छ । ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यसअघि साउन १५ गते करिब १६ अर्ब रुपैयाँको कारोबार भएको थियो, त्यसयता आइतबारकै कारोबार सबैभन्दा बढी हो ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । त्यसपछि ग्रीन भेन्चर्सको ३९ करोड ७७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ३२ करोड रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३० करोड १४ लाख रुपैयाँ र बन्दीपुर केवलकारको २९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिनिधि सभा निर्वाचनको मिति फागुन २१ तय भएसँगै दलहरू उम्मेदवारी दर्ता र चुनावी अभियानमा सक्रिय भएका छन् । यसले लामो समयदेखि रहेको राजनीतिक अनिश्चिततामा क्रमशः स्पष्टता ल्याएको अनुभूति लगानीकर्तामा देखिन थालेको छ । केही महिनाअघि राजनीतिक संक्रमण र निर्वाचन हुने-नहुने आशंकाले बजार दबाबमा रहँदा नेप्से निरन्तर ओरालो लागेको थियो भने कारोबार रकम ३-४ अर्ब रुपैयाँमै सीमित थियो ।

हाल भने राजनीतिक स्थिरताप्रतिको अपेक्षा, ब्याजदरको स्थिरता, तरलताको सहज अवस्था र कम्पनीहरूको वित्तीय विवरणप्रतिको चासो बढेसँगै बजारमा सकारात्मक माहोल बनेको छ । यसले लगानीकर्तालाई पुनः सक्रिय बनाएको देखिन्छ ।

आइतबार सबै १३ उपसूचकमा हरियाली छायो । वाणिज्य बैंक समूह १.७९ प्रतिशत, विकास बैंक समूह १.६८ प्रतिशत, फाइनान्स समूह १.७३ प्रतिशत र होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले बढेका छन् । कुल कारोबारमा २४० कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको घट्यो भने १ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

विश्लेषकहरूका अनुसार बीच-बीचमा नाफा बुकिङका कारण सामान्य करेक्सन आउन सक्ने भए पनि समग्र प्रवृत्तिले शेयर बजार दीर्घकालीन सुधारको बाटोमा अघि बढिरहेको संकेत गरेको छ ।