कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा यस हिउँदको पहिलो हिमपात
काठमाडौँ । कर्णाली प्रदेशसहित सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाहरूमा यस हिउँदको पहिलो पटक हिमपात भएको छ। शुक्रबार रातिदेखि मौसम बदली भएसँगै डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट र बझाङलगायत जिल्लामा वर्षा र हिमपात सुरु भएको हो।
हिमपातका कारण डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पा पूर्ण रूपमा हिउँले सेताम्मे बनेको छ। तल्लो तथा मध्य डोल्पाका सुँ, जुफाल, माझफाल, रह, लिकु, पहाडा, चु, कालिका, काइगाउँलगायत बस्तीहरूमा पनि बाक्लो हिउँ जमेको छ। डोल्पाको शे-फोक्सुण्डो क्षेत्रसमेत हिउँले ढाकिएको छ।
हुम्लामा गत भदौयता वर्षा नभएपछि यस वर्ष पहिलो पटक वर्षासँगै हिमपात भएको हो। माथिल्लो हुम्लाका सिमकोट र नाम्खा क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। हिमपातका कारण नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने सडक पूर्ण रूपमा बन्द भएको छ। हाल सिमकोटमा तापक्रम माइनस १४ डिग्री सेल्सियसमा झरेको छ।
यस्तै जुम्लाको चन्दननाथ, मुगुको पर्यटकीय स्थल राराताल क्षेत्र पनि हिउँले ढाकिएको छ। बझाङका उच्च पहाडी क्षेत्रमा पनि हिमपातसँगै हल्का वर्षा भएको छ, जसले डाँडाकाँडा सेताम्मे देखिएका छन्। स्थानीयका अनुसार यस वर्ष ढिलो भए पनि बाग्लो हिमपात हुने संकेत देखिएको छ।
हिमपातका कारण चिसो अत्यधिक बढ्दा जनजीवन कष्टकर बनेको छ भने आवतजावतमा समस्या देखिएको छ। हावाहुरी र हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन।
तर लामो समय वर्षा र हिमपात नहुँदा चिन्तित किसानहरू भने अहिले खुसी भएका छन्। हिमपातपछि माटोमा चिस्यान बढेकाले गहुँ, जौ, आलु, कोदो, चिनु र फापरजस्ता हिउँदे बाली सप्रिने आशा गरिएको छ।
कृषि प्राविधिकहरूका अनुसार चिसो बढे पनि कृषि क्षेत्रका लागि यो हिमपात सकारात्मक सङ्केत हो। जल तथा मौसम विभागले कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा अझै बादल रहने र हिमपात जारी रहने सम्भावना रहेको जनाएको छ।
