न्युयोर्कमा भारी हिमपात, जनजीवन प्रभावित

तु खबर संवाददाता
२०८२ पुष १२, शनिबार २२:२२

न्युयोर्क । न्युयोर्क सिटीमा सन् २०२२ पछिकै सबैभन्दा धेरै हिउँ परेको छ जसका कारण यहाँको जनजीवन प्रभावित भएको छ । शनिबार बिहान ७ बजे सेन्ट्रल पार्कमा ४.३ इन्च हिउँ मापन भएको थियो, यो सन् २०२२ जनवरीपछि धेरै भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

भारी हिमपातका कारण जनजीवन प्रभावित भएपछि सरकारले कोड ब्लु जारी गरी आश्रम आवश्यक रहेकाहरुको निम्ति पहुँच विस्तार गरेका छन् ।
न्युयोर्क र न्यु जर्सीका गभर्नरहरूले आपतकालीन अवस्था घोषणा गरेका छन्। यहाँका सडकहरुमा बाक्लो हिउँ जमेको छ भने यसलाई सफा गर्न नुन छर्किएको छ । एयरपोर्टहरुले सयौँ उडानहरु रद्ध गरेका छन् ।

लागार्डिया, जेएफके र न्युआर्क बिमानस्थलबाट उडानहरु रद्ध गरिएको छ जसका कारण यात्रुहरु अलपत्र परेका छन् । यद्यपी, लामा तथा छोटा दुरीका यात्रुहरुलाई नयाँ फ्लाइटहरु सेड्युल गरिनेछन् ।

यस अघि आँधीका कारण यात्रा प्रतिवन्ध घोषणा गरिएको न्युजर्सीले भने ती यात्रा प्रतिबन्धहरु हटाएको छ । आज शनिबार बिहान ८ बजेबाट यात्रा प्रतिबन्धहरु हटाइएको भएपनि सावधानीपूर्वक सवारी चलाउन भनिएको छ । न्युआर्क अन्र्तराष्ट्रिय विमानस्थलमा २४९, लागार्डियामा २५० र जेएफके बिमानस्थलमा ३८७ बिमानहरु रद्ध गरिएको थियो ।

त्यस्तै क्यानाडाका विभिन्न स्थानहरुमा पनि हिमपात परेको छ । भारी हिमपातका कारण मानवीय क्षति नहोस् भन्नका लागि टोरेन्टो महानगरले सडकमा नुनु छर्किएको थियो ।