सिद्धबाबा सुरुङमार्ग ६५ प्रतिशत सम्पन्न
काठमाडौँ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण खण्ड मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानमा निर्माण भइरहेको यस आयोजनाअन्तर्गत मुख्य १ हजार १२६ मिटर लामो सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ। साथै १५१, १६१ र १३० मिटर लम्बाइका तीनवटै बाइपास सुरुङको निर्माण पनि पूरा भएको छ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन र तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। अनुगमनका क्रममा उनले आयोजना र निर्माण व्यवसायीबीच बाँकी रहेका प्राविधिक तथा प्रशासनिक विषय तत्काल टुंग्याउन आग्रह गरे।
आयोजनाका अनुसार हाल सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण, रिटेनिङवाल तथा अन्य संरचना निर्माणको काम जारी छ। आयोजनाअन्तर्गत समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ। मुख्य सुरुङबाट सवारी सञ्चालन सुरु भएपछि पहिरो तथा ढुंगा खस्नबाट रोक्न ७८० मिटर लामो, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइको ‘रक सेड’ निर्माण गरिनेछ।
इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यो सुरुङमार्ग निर्माण गरिरहेको छ। २५ फागुन २०७८ मा भएको सम्झौता अनुसार चैत २०८३ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। त्यसपछि कम्पनीले १ हजार ८२५ दिनसम्म सुरुङ सञ्चालन तथा मर्मतसम्भार गर्नेछ। आयोजना नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको हो।
सिद्धबाबा क्षेत्रमा वर्षायाम तथा हिउँदमा ढुंगा खस्ने, पहिरो जाने र सडक अवरुद्ध हुने समस्या बारम्बार देखिँदै आएको छ, जसका कारण मानवीय क्षति समेत हुँदै आएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि यस क्षेत्रको यात्रा सुरक्षित र छिटो हुने, दुर्घटना तथा ट्राफिक अवरोधमा उल्लेख्य कमी आउनेछ।
यसअघि मन्त्री घिसिङले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने खण्डको काम पनि ढिलाइ नगरी चाँडो सम्पन्न गर्न निर्देशन दिएका थिए। निर्माण कम्पनीले १० वटा समूह परिचालन गरी जनवरीसम्म एकतर्फी कङ्क्रिट काम सक्ने प्रतिबद्धता जनाएको छ।
