सुधारको संकेत देखाउँदै सेयरबजार, नेप्से ५.७ अंकले बढ्यो

तु खबर संवाददाता
२०८२ पुष २, बुधबार १५:५४

काठमाडौँ । केही दिनयता निरन्तर खुम्चिँदै आएको सेयरबजार पछिल्ला तीन कारोबार दिनदेखि क्रमिक सुधारको संकेत देखिन थालेको छ । यद्यपि बजार अझै पूर्ण रूपमा उत्साहित बन्न नसके पनि लगानीकर्तामा विस्तारै सकारात्मक मनोबल देखिन थालेको छ ।

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा कायम भएको छ । यस दिन ३३२ कम्पनीका ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५ करोड ३७ लाख २१ हजार रुपैयाँमा किनबेच भएका छन् । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ७५ करोड ९५ लाख रुपैयाँले बढेको हो ।

बुधबारको कारोबारमा वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादनशील, लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहका परिसूचक सकारात्मक देखिएका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक १.७५ प्रतिशतले बढेको छ । यद्यपि, होटेल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहका परिसूचक भने ओरालो लागेका छन् ।

कुल कारोबारमध्ये १४३ कम्पनीका सेयरमूल्य बढेका छन् भने १०४ कम्पनीका सेयरमूल्य घटेका छन् । बाँकी ११ कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् । समग्रमा १० उपसूचक हरियालीमा रहे पनि ३ उपसूचक घटेका छन् ।

लगानीकर्ताको मनोबल बजारको हल्का उछालसँगै केही बढेको देखिए पनि सेयर मूल्यमा उल्लेख्य वृद्धि भने हुन सकेको छैन । अधिकांश कम्पनीका सेयर मूल्य स्थिर अवस्थामा रहेर सामान्य उतार–चढावमै सीमित छन् ।

अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका केही पहल गरिए पनि ती अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको लगानीकर्ताको गुनासो छ । सरकारले स्थिरता र पारदर्शिता ल्याउने दाबी गरे पनि व्यवहारमा बजार अझै अस्थिर देखिएको छ । नयाँ आईपीओ सूचीकृत हुँदा सर्किट लाग्ने तर त्यसपछि मूल्य स्थिर रहने अवस्थाले लगानीकर्तामा थप दबाब परेको छ ।

विश्लेषकहरूका अनुसार बजारको उतार–चढावमा राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाका त्रैमासिक वित्तीय विवरण, खराब कर्जाको अनुपात बढ्नु मुख्य कारण बनेका छन् । साथै, ठूला लगानीकर्ता समूह र संगठित चलखेलको आशंका पनि बजार अस्थिरतासँग जोडेर हेरिएको छ ।

यद्यपि, अधिकांश नीतिगत व्यवस्था बजारमैत्री रहेको र अर्थतन्त्रका केही सकारात्मक सूचक देखिन थालेकाले बजारले कुनै पनि समय गति लिन सक्ने सम्भावना रहेको कतिपय लगानीकर्ताको बुझाइ छ । तर, लामो समयको गिरावटका कारण लगानीकर्ताको विश्वास अझै पूर्ण रूपमा फर्किन सकेको छैन ।