नागढुंगा-मलेखु सडक खण्ड आंशिक रूपमा बन्द हुने

तु खबर संवाददाता
२०८२ मंसिर २२, सोमबार ०८:५९

काठमाडौँ- नागढुंगा-मलेखु सडक खण्ड आंशिक रूपमा सवारी आवागमनमा अवरोध हुने भएको छ। सडक विस्तार तथा मर्मतसम्भार कार्यका कारण उक्त खण्डमा निश्चित समयका लागि सवारी साधन सञ्चालन रोकिने सडक डिभिजन कार्यालयले जनाएको छ।

त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-नौबिसे सडकखण्ड कालोपत्र तथा स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। सोही क्रममा काठमाडौँ जिल्लाभित्र पर्ने नागढुंगा-पिप्लामोड खण्डलाई उच्च प्राथमिकताका साथ कालोपत्र गरिँदैछ।कार्यालयका अनुसार २०८२ मङ्सिर २४ गतेदेखि २०८२ पुस १ गतेसम्म हरेक दिन बिहान १०:३० देखि दिउँसो २:३० बजेसम्म नागढुंगा-मलेखु सडक खण्ड आंशिक रूपमा बन्द रहनेछ। उक्त समयमा साना तथा ठूला सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

यस सडकखण्ड अन्य स्थानको तुलनामा साँघुरो भएकाले एकै पटक धेरै गह्रौँ उपकरण तथा ढुवानीका सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ। त्यस्तै, धादिङको गल्छी -गजुरी खण्ड र पोखरेभिर क्षेत्र पनि साँघुरो तथा जोखिमपूर्ण भएकाले सडक चौडाइको काम आवश्यक रहेको बताइएको छ।सूचना अनुसार, सो समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिनेछ। मुग्लिङबाट काठमाडौँतर्फ आउने सवारी साधन भने खानीखोला (नौबिसे) जुंगेखोला (थाक्रे) तथा गल्छी-गजुरी खण्डका लागि गल्छी, बैरेनी र मासटारमा रोकिने व्यवस्था मिलाइनेछ।

एम्बुलेन्स, दमकल, शव वाहन तथा सुरक्षा निकायका सवारी साधनजस्ता अत्यावश्यकीय सेवाका सवारीहरूलाई ट्राफिक प्रहरीको समन्वयमा सहज रूपमा आवागमन गराइने जनाइएको छ।साना तथा मझौला सवारी साधनले आवश्यक परेमा सीतापाइला-भीमढुंगा, रामकोट-धार्के तथा सामाखुसी-टोखा-छहरे सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्नेछन्।

निर्माण कार्यका क्रममा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा विशेष ध्यान दिइने भए पनि यात्रु तथा सवारी चालकहरूले यात्रा अघि योजना मिलाएर आवश्यक सावधानी अपनाउन सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ।सडक विस्तार सम्पन्न भएपछि सवारी आवागमन अझ सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। निर्माण कार्यका कारण हुन सक्ने असुविधाप्रति सम्बन्धित निकायले सर्वसाधारणसँग सहयोग र समझदारीका लागि अपिल गरेको छ।