सर्वोच्चको आदेशपछि हेटौँडा बजारको सडक विस्तार कार्य तत्काल स्थगित

तु खबर संवाददाता
२०८२ मंसिर २१, आईतवार १६:३०

काठमाडौँ ।सडक डिभिजन कार्यालय हेटौँडाले हेटौँडा उपमहानगरपालिकाभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक विस्तार तथा सीमा संरक्षण कार्य तत्कालका लागि स्थगित गरेको छ। सडक सीमा संरक्षण कार्यक्रम, २०८२ अन्तर्गत गरिएको अभियानविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भई उत्प्रेषण आदेश जारी भएपछि काम रोकिएको हो।

डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार सम्मानित सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी भएको उत्प्रेषण आदेश मंसिर २१ गते दिउँसो १२:४६ बजे कार्यालयमा प्राप्त भएको थियो। अदालतको आदेशलाई सम्मान गर्दै सूचनामा उल्लेख गरिएका सम्पूर्ण कार्यहरू हालका लागि स्थगन गरिएको उनले जानकारी दिए।

यसअघि अतिक्रमित सडक क्षेत्र खाली गर्न दिइएको १५ दिने समयसीमा सकिएको भोलिपल्ट मंसिर २० गते बिहानै सडक डिभिजन कार्यालयले हेटौँडा बजार क्षेत्रमा डोजर चलाएको थियो। शनिबार मात्रै करिब ५०० वटा घर, पसल, टहरा लगायत संरचना भत्काइएका थिए। भत्काइएका संरचनाभित्रका सामान निकाल्न दुई दिनको समय दिइएको सडक डिभिजनले जनाएको छ।

डोजर चल्न थालेपछि बजार क्षेत्र तनावग्रस्त बनेको थियो। फर्निचर पसललगायत व्यापारिक प्रतिष्ठानहरूले हतारहतार सामान खाली गरेका थिए। डोजर टोलीले सकेसम्म घरभित्रका सामान जोगाउने प्रयास गरेको देखिन्थ्यो। धेरै घर र पसलमा सुरुमा ‘डोप’ लगाएर सामान निकाल्न समय दिइएको थियो।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै सडक विस्तारको सम्पूर्ण काम हाललाई स्थगित गरिएको औपचारिक घोषणा गरेको छ।