मंसिर २० बाट हेटौंडा सडक विस्तार निश्चित: ५३१ संरचना हटाउने तयारी

तु खबर संवाददाता
२०८२ मंसिर १५, सोमबार १०:०७

काठमाडौं । हेटौंडा बजार क्षेत्रको लामो समयदेखि अल्झिएको सडक विस्तार कार्य यसपालि मंसिर २० गते बाट सुरु हुने निश्चित भएको छ। डिभिजन सडक कार्यालय हेटौँडाले रातोमाटेदेखि बुद्धचोक राप्ती पुल हुँदै सामरी पुलसम्म २५/२५ गज सीमाभित्र पर्ने करिब ५३१ वटा घर-टहरा हटाउनका लागि सम्पूर्ण तयारीलाई अन्तिम रूप दिएको छ।

सर्वोच्च अदालतले यससम्बन्धी विगतका रिटहरू खारेज गर्दै सडक सीमाभित्रको संरचनालाई अवैध र सार्वजनिक सम्पत्ति ठहर गरेपछि अब कुनै कानुनी अवरोध नरहेको र निर्धारित मितिमै डोजर फिल्डमा उत्रने स्पष्ट संकेत मिलेको छ। कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार यस सडक खण्डलाई २०२१ सालको सडक ऐन र २०३४ सालको राजपत्रको सूचनाले नै राजमार्ग तोकिसकेको थियो र पटक-पटक रोकिएको विस्तार कार्यलाई २०७८ र २०८० पुस १७ गतेको सर्वोच्च अदालतको फैसलाले कानुनी वैधानिकता दिएको छ।

विस्तार कार्यले २ बैंक र ३ पेट्रोल पम्पलाई समेत प्रभावित पार्नेछ। स्थानीय घरधनी र व्यवसायीहरूले विकास विरोधी नभए पनि उचित मुआब्जा र पुनःस्थापनाको माग उठाइरहेका छन् तर अधिकारीले अदालतको आदेशअनुसार सडक सीमाभित्रका संरचना भत्काउँदा क्षतिपूर्ति दिन नपर्ने स्पष्ट पारेका छन्।

सडक विस्तारका क्रममा मुख्य बजार क्षेत्रको सवारी आवागमन अवरुद्ध हुने भएकाले काठमाडौं-भैँसेतर्फ जाने सवारीलाई चौकीटोल-राप्ती नदी उकास-त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ र पूर्वतर्फ जाने सवारीलाई राप्ती किनार भएर रातोमाटे मार्ग प्रयोग गराइने गरी वैकल्पिक मार्गहरूको व्यवस्थापन तीव्र पारिएको छ।

सेवा अवरोध रोक्न नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार व्यवस्थापन तथा नेपाल आयल निगम अन्तर्गतका पेट्रोल पम्पहरूले स्थानान्तरण प्रक्रिया सुरु गरिसकेका छन्। यस कार्यलाई सफलतापूर्वक कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक डिभिजनका इन्जिनियरको नेतृत्वमा विशेष टास्क-फोर्स गठन गरेको छ जसको सहयोगमा रेखाङ्कन, सुरक्षा व्यवस्थापन र समन्वयका कामहरू भइरहेका छन्।