नार्कका ११ कर्मचारी सम्पर्कविहीन सेवाबाट हटाउने चेतावनी

तु खबर संवाददाता
२०८२ मंसिर १४, आईतवार १०:०८

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अध्ययन बिदामा गएर लामो समयदेखि काममा नफर्केका ७ वैज्ञानिकसहित ११ कर्मचारी माथि कडा कारबाही प्रक्रिया अघि बढाएको छ। परिषद्ले ती कर्मचारीहरूलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

अनुपस्थित हुने वैज्ञानिकहरूमा अच्युत मिश्र, नवीनकुमार दंगाल, होमन रेग्मी, देवराज चालिसे, प्रतिष्ठा अधिकारी, दिनेशबाबु थापा मगर, संजिव गौतम, किरण बराल र राजु चौधरी लगायत छन्। त्यसैगरी विकास घिमिरे, सुशीलकुमार गैरे, बुद्धिबहादुर अछामी, सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ लगायतका अन्य कर्मचारीहरू पनि विभिन्न मितिदेखि सम्पर्कविहीन रहेका छन्। यीमध्ये कतिपय कर्मचारीहरू २०७१ सालदेखि नै काममा फर्केका छैनन्।

अध्ययन बिदा स्वीकृत गराउँदा कबुलियतनामा गरेका यी कर्मचारीहरू बिदा सकिएपछि हाजिर हुन आउनुपर्नेमा सम्पर्कविहीन छन् वा राजीनामा पेस गरेका छन्। नार्कले तोकिएको समयभित्र स्पष्टीकरणसहित उपस्थित नभएमा कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क) बमोजिम नोकरी टुटेको सम्झी सेवाबाट हटाउने र उनीहरूमा परिषद्ले लगानी गरेको सबै रकम असुल उपर गर्ने चेतावनी दिएको छ।