सहिद स्मारक प्रिमियर लिग–सिजन १ हुँदै
मकवानपुर । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा यही मंसिर २० गतेबाट हेटौँडा ११ मा सहिद स्मारक प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिताको तयारी स्वरुप आयोजक समितीले शनिबार हेटौंडामा खेलाडीहरूको अक्सन गरेको छ ।
टोल विकास संस्थाका खेल संयोजक सुदिप श्रेष्ठको अध्यक्षतामा भएको खेलाडी अक्सन कार्यक्रममा गोल्फिन्टार किङ्स, बागथली वारीयर्स, नवलपुर टाइटन्स र थानाभ¥याङ म्याव्रिक्स गरी चार वटा क्लबहरूको सहभागीता रहेको थियो ।
प्रत्येक क्लबले अक्सनमा सहभागी भई रु. २५ हजारको सीमाभित्र खर्च गरी मार्की प्लेयरसहित अन्य १४ खेलाडी सोल्ड गरेको आयोजक समितिका सदस्य जिके बिष्णुले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा आमन्त्रित सहभागी क्लबको रुपमा रहेको हेटौँडा एकेडेमीले भने अक्सनमा सहभागी नभएको र क्लबसँग ९ जना खेलाडी रहेको र आज अनसोल्ड भएका खेलाडीमध्येबाट वडाबाहिरका ५ जना ग्रेडअनुसार खेलाडी प्रदान गरिने जनाएको छ ।
सबै क्लबले मार्की प्लेयरको रुपमा खेलाडी चयन गरीसकेका छन् ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै बागेश्वरी टोल विकास संस्थाकी अध्यक्ष उर्मिला आचार्यले आफुहरूले स्थानीय खेलाडीहरूको प्रबर्धन गर्न थालेको अभियानमा सबै वडावासीहरु सक्रिय सहभागी भइरहेकाले खुसी लागेको उल्लेख गरिन् ।
उनले आगामी दिनमा सहिद स्मारक प्रिमियर लिगलाई निन्तरता दिने प्रतिबद्धतासमेत गरिन् ।
अक्सनमा ४२ जना वडाभित्रका खेलाडी र जिल्लाभित्रका तर वडाबाहिरका ४४ जना गरी ८६ खेलाडि अक्सनमा सहभागी रहेका थिए । उनीहरूलाई ए ,बी र सी गरी तीन ग्रेडमा विभाजन गरीएको र उनीहरूको अक्सन मूल्य पनि फरक फरक राखिएको आयोजक सदस्य सञ्जय बिडारीले बताए ।
सहिद स्मारक प्रिमियर लिग आगामी मंसिर २० गतेबाट मंसिर २७ गतेसम्म हेटौँडा ११ मा रहेको हेटौँडा एकेडेमीको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि करीब ७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक समितिको छ ।


