लगातार हारको अन्त्य, लुम्बिनी लायन्सको दोस्रो जीत
काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा दोस्रो जित हात पार्दै लगातार हारको श्रृङ्खलामा पूर्णविराम लगाएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण अंक जोडेको हो ।
पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याउँदै लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाउँदै खेल आफ्नो पक्षमा पारेको थियो। अन्तिम ओभरमा १० रन आवश्यक परेको अवस्थामा सन्दीप जोराले लगातार दुई चौका प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए।
यो जितसँगै लुम्बिनीले तीन खेलको हारको दबाब तोड्दै पाँच खेलबाट ४ अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
