पुँजी बजार निरन्तर रौनक : कारोबार समेत बढ्दै

तु खबर संवाददाता
२०८२ मंसिर ११, बिहीबार १५:१३

काठमाडौँ । शेयर बजारले पछिल्लो एक साता निरन्तर उच्च स्तरको रौनक देखाएको छ । प्रथम त्रैमासिक वित्तीय विवरणको प्रतिक्षामा रहेका लगानीकर्ताहरू पर्ख र हेर को अवस्थामा थिए । तर वित्तीय विवरण सार्वजनिक हुन सुरु भएपछि बजारमा उतार–चढाव देखिन थाल्यो । यसैबीच, बैंकहरूले शेयर धितो कर्जामा आधार दरमा ब्याजदर घटाउन थालेका छन् । केही दिनअघि मात्र एनआईसी एशिया बैंकले यस्तो सुविधा ल्याएको थियो भने अन्य बैंकहरूले पनि यस्तै तयारी थालेको देखिन्छ । यस कदमले लगानीकर्तामा उत्साह थपेको विश्लेषकहरूले बताएका छन् ।

विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गरिरहेको समयमा बजारमा लगानी उत्साह बढेको देखिन्छ । लाभांश सिजनले बजारमा सकारात्मक ऊर्जा थप्ने र लगानीकर्ताको ध्यान आकर्षित गर्ने काम गरेको छ । यससँगै सरकारले नेप्सेको संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ भने नियामक निकाय पनि पुँजी बजार सुधारमा सक्रिय छ । यी कदमले बजार सुधार र लगानी वातावरणलाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

तर बजारमा अस्थिरता अझै कायम छ । राजनीतिक अस्थिरता, आगामी आन्दोलनका खबर तथा बैंक तथा वित्तीय संस्थाको प्रथम त्रैमासिक विवरणले लगानीकर्तामा जोखिमको भावना बढाएको छ। धेरै बैंकको नाफा घटेको र खराब कर्जा बढेको तथ्यले दीर्घकालीन लगानीकर्तालाई सतर्क बनाएको छ । विश्लेषकहरूले बजारको अस्थिरतालाई ठूला लगानीकर्ता र माफिया समूहसँग जोडेर व्याख्या गर्न थालेका छन्। यसरी, लगानीकर्ताले अझै सतर्क भएर शेयर बजारमा कदम चाल्नुपर्ने अवस्था छ, जसले बजारमा उच्च उतार–चढाव कायम राख्ने संकेत दिइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अकंले बढेर २६७६.०३ बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ८ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहकोा १.४७ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३३ प्रतिशत, हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको. ०.७२प्रतिशतले शेयर मूल्य बढेको छ ।

बिहिबार १३१ कम्पनीको शेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज ४ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।