बागमती करिडोरमा स्मार्ट बत्ती र आधुनिक सीसीटिभी जडान गरीने
काठमाडौँ । बागमती नदी करिडोरलाई रातमा उज्यालो र सुरक्षित बनाउने उद्देश्यले गोकर्णदेखि बल्खुसम्मको क्षेत्रभर स्मार्ट बत्ती तथा अत्याधुनिक सीसीटिभी जडान गर्ने तयारी तीव्र भएको छ। शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले फोहोरमैला व्यवस्थापन, अनधिकृत गतिविधि र सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम र आधुनिक सिसिटिभी सर्भिलेन्स सिस्टम स्थापना गर्न लागेको हो।
करिडोर क्षेत्रमा ५६७ थान स्मार्ट सडक बत्ती, ४८ थान फ्लड लाइट र ६ स्थानमा हाइमास्ट फ्लडलाइट जडान गरिने उपनिर्देशक उद्धव नेपालले जानकारी दिए। साथै तापक्रम, धुलो तथा पानी प्रतिरोधी र दिन–रात दुवै समयमा काम गर्ने १२० थान अत्याधुनिक सीसी क्यामेरा जडान गरिनेछ। क्यामेराको सर्भर तथा मनिटरिङ युनिट काठमाडौं उपत्यकाको प्रहरी कार्यालयमा रहनेछ।
थापाथली–टेकु दोभान क्षेत्रमा भने सीसीटिभी जडानको काम पूरा भइसकेको समितिले जनाएको छ। अब गोकर्ण–बल्खु करिडोरमा समेत आधुनिक प्रणाली जडान भएपछि फोहोर फाल्ने, अवैध गतिविधि तथा अन्य अव्यवस्थित व्यवहारलाई नियन्त्रण गर्न सहज हुने विश्वास लिइएको छ।
समितिले निर्माण व्यवसायी छनोटका लागि टेन्डर प्रक्रिया सुरु गरिसकेको छ। परियोजना सम्पन्न भएपछि रात्रीकालीन उज्यालो, सुरक्षा, निगरानी तथा वातावरणीय व्यवस्थापनमा उल्लेख्य सुधार हुने र निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
