सचिवालयमा नातावाद,जेनजी फ्रन्टले माग्यो श्रेष्ठको बर्खास्ती

तु खबर संवाददाता
२०८२ मंसिर ८, सोमबार १०:२२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नी पत्नी तथा नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति गराएको खुलासा भएपछि नेपाल जेनजी फ्रन्टले कडा रूपमा आपत्ति जनाउँदै तत्काल बर्खास्तीको माग गरेको छ।

जेनजी फ्रन्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठले राज्यको संवेदनशील निकायमा नातावाद र कृपावादको प्रयोग गरेको आरोप लगाउँदै यस्ता गतिविधिले सुशासन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रहार गरेको जनाएको छ। फ्रन्टले प्रधानमन्त्री समक्ष पाँच बुँदे माग राख्दै आदर्शकुमार श्रेष्ठलाई पदमुक्त गर्न तथा उनले गराएका सबै नियुक्ति तत्काल खारेज गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा जनाइएअनुसार, सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करार सेवामा कार्यरत रहेर प्रधानमन्त्री कार्कीको सचिवालयमा पुगेका आदर्शकुमार श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव तथा नातेदार कमला श्रेष्ठलाई समेत सोही तहमा नियुक्त गराएका थिए। दुवैको नियुक्ति असोज २ गते गरिएको थियो। त्यतिमात्र नभई प्रशासन सहायक (नासु–तह) मा पुनम श्रेष्ठ र रविना श्रेष्ठ नामक नातेदारहरू पनि सोही दिन नियुक्त भएका थिए।

फ्रन्टको भनाइअनुसार, “जेन–जी विद्रोह नेपाली समाज र राज्य संयन्त्रमा वर्षौँदेखि जरा गाडेर बसेका यस्ता विकृतिविरुद्धको अभियान हो, र यो प्रकरणले पुनः एकपटक त्यही विकृति उजागर गरेको छ।”

प्रधानमन्त्री कार्की नियुक्त भएको एक साताभित्रै गरिएका यी सबै नियुक्तिका कारण उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै फ्रन्टले यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ।