माइतीघरमा जेन–जी घाइतेहरूको धर्ना
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेर विरोध प्रदर्शन गरेका छन्। नेकपा (एमाले)ले पार्टीको नीति तथा नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्ने तयारी गरिरहँदा उनीहरूले त्यसको विरोधमा सडकमा उपस्थिति जनाएका हुन्।
एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा गर्दै र्याली आयोजना गर्ने कार्यक्रम तय गरेको छ। सो कार्यक्रमअगाडि माइतीघरबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी समेत रहेको एमालेकाे भनाइ छ।
तर, बारामा भएको हालैको घटनालाई एमाले नेतृत्वले उक्साएको आरोप लगाउँदै तथा ओलीलाई प्रमुख अतिथि बनाइएकोमा असन्तुष्टि जनाउँदै जेन–जी घाइतेहरू कार्यक्रम रोक्न सडकमा उत्रिएका हुन्। उनीहरू धर्नामा बसेपछि माइतीघर क्षेत्र आसपासमा अतिरिक्त सुरक्षा व्यवस्था कडाइ गरिएको छ।



