कर दिवस–२०८१: विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरू सार्वजनिक
काठमाडौँ । कर दिवसका अवसरमा आ.व. २०८०/०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा उच्चतम कर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले देशको कर प्रणालीमा उदाहरणीय भूमिका निर्वाह गर्ने उत्कृष्ट करदाताहरूको नाम यस वर्ष पनि घोषणा गरेको हो।
सबैभन्दा धेरै आयकर तिर्ने निकायको रूपमा नेपाल दूरसञ्चार प्राधिकरण चयन भएको छ भने एकलौटी फर्ममध्ये थर्ड आई इन्टरनेशनल शीर्ष स्थानमा परेको विभागले जनाएको छ।
बस्तु निर्यात कारोबार समूहमा डाबर नेपाल प्रा.लि. सर्वाधिक कर तिर्ने कम्पनी बनेको छ। सूचना प्रविधि सेवा निर्यात समूहमा भने भेरिक्स नेपाल प्रा.लि. उत्कृष्ट करदाता घोषणा गरिएको छ।
कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रा.लि.ले सबैभन्दा बढी कर तिरेको विभागले स्पष्ट पारेको छ। बैंक, वित्तीय संस्था तथा बीमा समूहमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. उत्कृष्ट करदाता बनेको छ।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नोबे हस्पिटल लि. सर्वाधिक कर तिरेर शीर्ष स्थानमा पुगेको छ भने पर्यटन समूहमा सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता ठहरिएको छ।
बस्तु व्यापार समूहमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि.ले सबैभन्दा धेरै कर तिरेको विभागले जनाएको छ। वार्षिक कारोबार ५० देखि १०० करोड रुपैयाँसम्म गर्ने व्यवसायमध्ये सि.डी.एस. एण्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाता घोषित भएको छ।
उत्पादक उद्योग समूहमा भोटेकोशी पावर कम्पनी प्रा.लि., रेमिट्यान्स तथा मनी ट्रान्सफर समूहमा आईएमई लिमिटेड, साथै व्यक्तिगत करदातामध्ये राज बहादुर शाह सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रूपमा सूचीकृत भएका छन्।
२०७६ श्रावणदेखि २०८२ आषाढ मसान्तसम्मको अवधिमा नियमित रूपमा कर विवरण पेश गर्दै सर्वाधिक मु.अ. कर तिर्ने करदाता नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको विभागले बताएको छ।
वार्षिक कारोबार ५० करोडसम्म गर्ने व्यवसाय समूहमा भि.एफ. सर्भिसेज (मोरिसस) प्रा.लि. चयन भएको छ भने विशेष उद्योग समूहमा यूनिलिभर नेपाल लिमिटेड उत्कृष्ट करदाता बन्न सफल भएको विभागले जानकारी दिएको छ।



