रुपन्देहीका चार उद्योगले तिरे बक्यौताको पहिलो किस्ता
 काठमाडौं । लामो समयदेखि प्रिमियम महसुल तिर्न बाँकी रहेका रुपन्देहीका चार उद्योगले अन्ततः बक्यौताको पहिलो किस्ता बुझाएपछि विद्युत् आपूर्ति पुनः जडान गरिएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको पहिलो किस्ताको रकम सोमबार तिरेका हुन्।
सन् २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको प्रिमियम महसुल नबुझाएपछि ती उद्योगको विद्युत् लाइन काटिएको थियो। पहिलो किस्ता तिरेसँगै प्राधिकरणले ती उद्योगमा विद्युत् सेवा पुनः जडान गरेको हो।प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार रुपैयाँ, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख रुपैयाँ र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ। प्राधिकरणले बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा उपलब्ध गराएको छ।पछिल्लो समय ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशनमा प्राधिकरणले बक्यौता उठाउने अभियानलाई तीव्र बनाएको छ।
उद्योगीहरूले तिर्न बाँकी डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको बक्यौता जसरी पनि उठाउने रणनीतिमा लागेका छन् भने, तिर्न अटेर गर्ने उद्योगमा विद्युत् आपूर्ति काट्ने कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।



