भ्रष्टाचार आरोपमा वन अधिकृत श्रेष्ठमाथि अख्तियारको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध १ करोड ४३ लाख रुपैयाँ अकुत सम्पत्ति कमाएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।डिभिजन वन कार्यालय इलाममा अधिकृत पदमा कार्यरत रही हाल भोजपुरमा कार्यरत दशौं तहका अधिकृत श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारले विस्तृत छानबिन अघि बढाएको थियो।
छानबिनका क्रममा श्रेष्ठले नियुक्ति लिएको २०४८ साल असार २६ गतेदेखि २०८० फागुन १६ गतेसम्मको अवधिमा कुल वैधानिक आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ मात्र देखिएको भए पनि सोही अवधिमा उनको कुल खर्च ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ पुगेको खुलेको अख्तियारले जनाएको छ।सो अनुसार श्रेष्ठको १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँको स्रोत खुल्न नसकेपछि अख्तियारले उनलाई गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा चलाएको हो।
अख्तियारले दायर गरेको आरोपपत्रमा श्रेष्ठले आफ्नो वास्तविक आयसँग मेल नखाने, अस्वाभाविक र उच्चस्तरीय जीवनशैली अपनाएको उल्लेख गरिएको छ। साथै, उनले सम्पत्ति विवरण पेश गर्दा वास्तविक सम्पत्ति लुकाएर झुट्टा विवरण दिएको तथ्य पनि अनुसन्धानबाट बाहिर आएको अख्तियारको भनाइ छ।उक्त सम्पत्ति लुकाउन उनले आफ्नी श्रीमती, बुहारी र बुहारी सञ्चालित कम्पनीको नाममा रकम खर्च गरेको प्रमाणित भएपछि अख्तियारले ती सबैलाई समेत प्रतिवादी बनाई सो रकम जफत गर्न मागसहित मुद्दा दायर गरेको हो।
