धनुषामा बस र अटो रिक्सा ठोक्किंदा ४ जनाको मृत्यु
काठमाडौं । धनुषामा यात्रुबाहक बससँग अटो रिक्सा ठोक्किंदा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो शनिबार साँझ ठोक्किंदा दुर्घटना भएको हो।
दुर्घटनामा परी धनुषाकै अन्दाजी ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, ३५ वर्षीय शम्भु पूर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटो चालक डम्बर राई रहेका छन्। चालक बाहेक अन्य सबैजना एकै परिवारका सदस्य हुन्।
सोही दुर्घटनामा परी १४ वर्षीय शीतल मगर ९ वर्षीय रोशन मगर गम्भीर रूपमा घाइते भएका छन्।



