नेपाल विद्युत् प्राधिकरणद्वारा थप १८ उद्योगको विद्युत् आपूर्ति कटौती

तु खबर संवाददाता
२०८२ कार्तिक ८, शनिबार १२:३३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोगबापतको महसुल नतिर्ने उद्योगहरूविरुद्ध कडा कदम चाल्दै हिजो थप १८ वटा उद्योगको विद्युत् आपूर्ति कटौती गरेको छ। पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्स लगायतका उद्योगहरूको लाइन काटिएको प्राधिकरणले जनाएको छ। यसअघि पनि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति बन्द गरिएको थियो।

विद्युत् महसुलसम्बन्धी विवादमा रहेका उद्योगमध्ये १४ उद्योगले महसुलको पहिलो किस्ता बुझाइसकेका छन्। डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको हकमा पहिले बुझाइएको धरौटी रकम किस्ता तिर्न पर्याप्त भएकाले उनीहरूको लाइन नकटिएको प्राधिकरणले स्पष्ट पारेको छ। यद्यपि, अन्य केही उद्योग तथा व्यवसायीहरूले आफूहरूले डेडिकेटेड वा ट्रङ्कलाइन प्रयोग नै नगरेकाले त्यसको महसुल तिर्नुपर्ने आधार नभएको दाबी गर्दै आएका छन्। करिब ८ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेको भनिएका उद्योगमध्ये केहीले किस्ताबन्दीमा तिर्न सुरु गरेका छन् भने केही कानुनी प्रक्रियामा प्रवेश गरेका छन्।

प्राधिकरणले असोज १२ गते सूचना जारी गर्दै २१ दिनभित्र बक्यौता बुझाउन आग्रह गरेको थियो। सो अवधिसम्म पनि बक्यौता नतिरेकाले विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ बमोजिम उद्योगहरूको लाइन काटिएको हो। उद्योगहरूको तर्फबाट उठाइएको असन्तुष्टि र प्राधिकरणको कडा कदमका कारण विद्युत् आपूर्ति र औद्योगिक गतिविधिमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। विवाद समाधानका लागि सरोकारवाला निकायको हस्तक्षेप र कानुनी प्रक्रियाको प्रतिक्षा भइरहेका बेला प्राधिकरण महसुल असुलीमा अडिग रहेको देखिन्छ।