अमेरिकी नास्डाकमा सूचीकृत पहिलो नेपाली उद्यमीको कम्पनी फ्यूज मेसिन
काठमाडौं । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी कम्पनी ‘फ्यूज मेसिन’ अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा औपचारिक रूपमा सूचीकृत भई कारोबार सुरु गरेको छ।
एन्टरप्राइज एआई सोलुसन्सको विश्वव्यापी अग्रणी कम्पनीका रूपमा परिचित फ्यूज मेसिनको साधारण शेयरको कारोबार नास्डाक स्टक मार्केटमा बिहीबारदेखि सुरु भएको हो। यससँगै फ्यूज मेसिन नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ।
उक्त कम्पनीले दुई वर्षअघि गरेको मर्जर (गाभ्ने प्रक्रिया) पश्चात् बिहीबारदेखि ‘फ्यूज’ नामबाट धितोपत्र कारोबार सुरु गरेको हो। कम्पनीका संस्थापक तथा सीईओ डा. समीर मास्केले भने,
“नवीनतम सोच र अवधारणाले कम्पनीको सानो समूहबाट सुरु भएको यात्राले आज यो महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसले हामीलाई आगामी दिनमा अझै ठूलो प्रभाव सिर्जना गर्न प्रेरित गर्नेछ।”
कम्पनीले यो सफलतालाई ‘सबैका लागि एआईलाई लोकतान्त्रिक बनाउने’ आफ्नो मिशनको नयाँ अध्यायको सुरुवातको रूपमा लिएको छ। फ्यूज मेसिनका अनुसार नास्डाकमा सूचीकृत भएसँगै कम्पनीले विश्वव्यापी रूपमा बढ्दो एआई सोलुसन्सको मागलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न सक्नेछ।
