आज देशैभर हर्षोल्लासका साथ भाइटीका मनाइयो

तु खबर संवाददाता
२०८२ कार्तिक ६, बिहीबार १९:३९
तस्बिर : राजनीतिक दलमा आवद्ध भीम पाख्रिन तिहारको टीका लगाउँदै ।

काठमाडौं । आज कार्तिक ६ गते यमपञ्चकको अन्तिम दिनका रूपमा देशभर भाइटीका पर्व मनाइयो । नेपालीहरूको महान् चाड तिहारको समापनका रूपमा आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै टीका तथा माला लगाइदिने परम्परा भएकाले सोही अनुसार दिदी बहिनीहरुले आफ्ना दाजुभाइहरुलाई भाइटीका लगाइदिए ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेट निर्धारण गरेको थियो । यही साइतमा दिदीबहिनीहरूले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाई माला र मिठाइ अर्पण गरे । दाजुभाइले पनि दिदी बहिनीलाई टीका लगाएर दक्षिणा दिए ।

भाइटीकामा बहिनीहरूले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै अक्षता, दही र फूल प्रयोग गरी सप्तरंगी टीका लगाउँछन् भने दाजुभाइले पनि बहिनीहरूलाई उपहार तथा दक्षिणा दिएर स्नेह र आशीर्वाद प्रकट गर्छन्।

तिहारको पाँच दिनसम्म चल्ने यो पर्वमा काग तिहार, कुकुर तिहार, गाई पूजा, गोवर्धन पूजा र अन्त्यमा भाइटीका गरी उल्लासपूर्वक मनाइएको छ ।