नर्स आन्दोलन समाधानका लागि १४ सदस्यीय समिति,बैठक आजै बस्ने

काठमाडौं ।सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा बनेको समितिले आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउन तत्काल पहल थालेको छ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार समितिको पहिलो बैठक आजै बस्दैछ । बैठकमार्फत नर्सहरूलाई काममा फर्काउन सहमति गराउने प्रयास भइरहेको उनले बताए। भोलिदेखि तिहार बिदा सुरु हुने भएकाले स्वास्थ्यसेवा प्रभावित नहोस् भनेर सहमति आजै खोजिने मन्त्रीस्तरीय स्रोतले जनाएको छ।
यस समितिमा स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा. अनुप बाँस्तोला, चिकित्सा शिक्षा आयोगका निर्देशक, स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख, साथै गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधिहरू सदस्यका रुपमा छन्। चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा प्रमुखलाई सदस्य–सचिव तोकिएको छ।
देशभरका निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरूले सरकारले तोकेको आधारभूत तलब तथा सुविधा नपाएको भन्दै आन्दोलन गरिरहेका छन्। हाल सरकारले निर्धारण गरेको आधारभूत तलब ३४ हजार ७३० रुपैयाँ रहेको छ। प्रधानमन्त्री सुशीला कार्की, जो स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहनुभएको छ,ले गत बिहीबार सचिवसहितको टोलीलाई बोलाएर तत्काल समाधानका लागि निर्देशन दिएकी थिइन्।
सचिव देवकोटाका अनुसार समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन पेश गर्नुपर्नेछ। मन्त्रालयले आन्दोलनरत नर्सहरूलाई काममा फर्किन आग्रह गर्दै समाधानका लागि गम्भीर प्रयास भइरहेको जनाएको छ।