मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ जना घाइते
काठमाडौँ । मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहान सातवटा सवारीसाधन आपसमा ठोकिँदा २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना आज बिहान करिब ७ः३० बजे भएको हो। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस ठोक्किएपछि पछिपछि आइरहेका अन्य सवारीसाधनहरू पनि आपसमा ठोक्किएका थिए।
बसको पछाडि रहेको ना७ख ९६०७ नम्बरको टेलर, त्यसपछि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्ट्रिक माइक्रो, ग२ख १६२६ नम्बरको अर्को बस, ना३च ३२५६ नम्बरको बलेरो, र बिएबी ८४७० नम्बरको कार समेत दुर्घटनामा परेका हुन्।
दुर्घटनामा घाइते भएका २१ जनामध्ये १३ जनालाई नेसनल सिटी अस्पताल, ४ जनालाई नयाँ मेडिकल कलेज, र ४ जनालाई जनता केयर अस्पताल, भरतपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
बसका चालकलाई चेपिएको अवस्थामा उद्धार गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण सडक केही समयका लागि पूर्ण रूपमा अवरुद्ध बनेको र सवारीसाधन हटाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्रक र बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ भने अन्य सवारीसाधनमा सामान्य क्षति भएको बताइएको छ।



