जेन-जी आन्दोलनमा २२ प्रदर्शनकारीको मृत्यु, सेनाले उठायो प्रश्न !

काठमाडौँ । नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको जनाएको छ, जसमा २२ जना मात्रै प्रदर्शनकारी रहेको पुष्टि गरेको छ। सेनाका अनुसार तीन प्रहरी, १० कैदी र ४१ जनाको मृत्यु ‘अन्य’ सूचीमा परेको छ, जसको कारण अझै स्पष्ट छैन।
शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले यो तथ्यांक सार्वजनिक गर्दै आन्दोलनका क्रममा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको बताए।
उनका अनुसार आन्दोलनबाट ९ सय ७८ वटा हातहतियार लुटिएका थिए, जसमा ५ सय ८६ हतियार मात्र फिर्ता भएका छन्। आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालय, ३ सय ७ प्रहरी कार्यालय, २ सय ५९ निजी घर, १ सय ९८ राजनीतिक दलका कार्यालय र १ सय २८ व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको सेनाले जनाएको छ।
सहायक रथी मनोज थापाले भने, ‘विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर आएका समूहलाई सेनाले रोक्न सफल भयो। यदि विमानस्थल बन्द भएको भए, नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमै धुमिल हुने थियो।’
भाटभटेनीलगायत विभिन्न ठाउँमा जलेकाहरूलाई सेनाले ‘अन्य’ सूचीमा राखेको छ। सेनाले उनीहरूको मृत्यु कसरी र कोबाट भयो भन्ने प्रश्न उठाउँदै थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।
जेन-जी पुस्ताका युवा, किशोर र विद्यार्थीहरूले सुरु गरेको आन्दोलनका क्रममा २३ भदौमा नयाँ बानेश्वरमा १९ र इटहरीमा २ जनाको मृत्यु भएको थियो। सेनाले यो आन्दोलन केही समूहले योजनाबद्ध रूपमा हिंसात्मक रूप दिएको निष्कर्ष समेत निकालेको छ।