गाडी जलेर नष्ट भएपछि नयाँ खरिद गर्न प्रहरीको टेण्डर

काठमाडौँ । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना जारी गर्दै पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअप गाडी खरिदका लागि टेण्डर आह्वान गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, वित्त प्रशासन तथा खरीद निर्देशनालयद्वारा जारी सूचनामा अनुसार पेट्रोल पिकअपका लागि ६३ लाख ७६ हजार रुपैयाँ र विद्युतीय पिकअपका लागि १ करोड १३ लाख रुपैयाँ धरौटी रकम तोकिएको छ ।
टेण्डरदाताले कात्तिक ९ गते (अक्टोबर २६) मा हुने प्रिबिड मिटिङमा सहभागी हुन सक्नेछन् । विद्युतीय टेण्डर कात्तिक १४ गते (अक्टोबर ३१) भित्र नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, वित्त प्रशासन तथा खरीद निर्देशनालय, नक्सालमा पेस गर्नुपर्ने जनाइएको छ ।
प्रहरीका अनुसार टेण्डरहरू सोही दिन अपराह्न २ बजे खोलिने छन् । टेण्डर पेश गर्दा बैंक ग्यारेन्टीसहित बुझाउनुपर्ने र उक्त ग्यारेन्टी टेण्डर वैधता अवधि भन्दा ३० दिन बढीको हुनुपर्ने पनि उल्लेख गरिएको छ ।
गत भदौ २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा प्रहरीका अधिकांश गाडी जलेर नष्ट भएपछि नयाँ गाडी खरिद प्रक्रिया अघि बढाइएको हो ।