वाणिज्य बैंकहरूले कात्तिकमा निक्षेपको घटाए ब्याजदर

तु खबर संवाददाता
२०८२ आश्विन ३१, शुक्रबार १०:२२

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ। असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ।

त्यसैगरी असोज महीनामा संस्थागततर्फ अधिकतम औषत ब्याजदर ३.८७ प्रतिशत रहेकोमा कात्तिक महीनामा ०.२२ प्रतिशतले घटेर ३.६५ प्रतिशतमा झरेको छ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये व्यक्तिगततर्फ १४ वटा बैंकहरूले निक्षेपको ब्यादजर घटाएका छन् भने ६ वटा बैंकले स्थिर राखेका छन्। यता संस्थापकतर्फ १० वटा बैंकले ब्याजदर घटाउँदा ९ वटाले भने स्थिर राखेका छन्।

कात्तिकका लागि माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी अर्थात् १ प्रतिशतले ब्याजदर घटाएका छन् भने नबिल बैंकले ०.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, प्रभु बैंकले ०.४० प्रतिशत तथा सिटिजन, एभरेष्ट, लक्ष्मी सनराइज र एनआईसी एशिया बैंकले समान ०.२५ प्रतिशत, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१८ प्रतिशत र कृषि र सानिमा बैंकले ०.१० प्रतिशतले व्यक्तिगततर्फ निक्षेपको ब्याजदर घटाएका छन्।

ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले असोज महीनाकै ब्याजदरलाई कात्तिकमा पनि यथावत् राखेका छन्।