मधेश प्रदेशसभा सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व कानुन राज्यमन्त्री सिंहसहितका व्यक्तिहरूविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार सिंहले विद्यालय र मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल रकम रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये झन्डै २८.२५ प्रतिशत अर्थात् रु. ३८ लाख ५० हजार ३१९ रकम घुसस्वरूप लिएर आफ्नै र श्रीमतीको संयुक्त खातामा जम्मा गराएका थिए।
सिंहले आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत ती रकम उपभोक्ता समितिहरूको खाताबाट झिकाइ आफ्नै खातामा राखेका थिए।
उनीसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले सिंह र उनको सचिव कायस्थले उपभोक्ता समिति गठन गरी सो समितिका खातामा जम्मा रकम दुरुपयोग गरेको ठहर गर्दै भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको प्रमाणसहित मुद्दा दायर गरेको जनाएको छ।



