सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ

तु खबर संवाददाता
२०८२ आश्विन २९, बुधबार ११:५४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो।

लगातार बढ्दै गएको सुनको मूल्यले बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तन र स्थानीयरूपमा बढ्दो मागका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरूले बताएका छन्।

यसैबीच, आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा देखिएको निरन्तर वृद्धि र चाँदीमा आएको गिरावटले धातु बजारमा मिश्रित प्रभाव परेको विश्लेषण गरिँदैछ।