विश्व बैंक–आईएमएफ बैठकका क्रममा खनाल र आईएमएफ उप–प्रबन्ध निर्देशकबीच भेटवार्ता

तु खबर संवाददाता
२०८२ आश्विन २८, मंगलवार १०:१८

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल हाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका छन्।

उनले अमेरिकाको चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टू द हार्टल्याण्डः अमेरिका–नेपाल साझेदारीको मजबुती’ शीर्षकको व्यवसायिक संवाद (बिजनेस डायलोग) लाई सम्बोधन गरेका छन्।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक सुधार, लगानीका अवसर, अनुकूल वातावरण र निजी क्षेत्रसँगको सहकार्यका सम्भावनाबारे धारणा व्यक्त गरे। उनले नेपाल आर्थिक रूपान्तरणको चरणमा रहेको बताउँदै अमेरिकी लगानीकर्तालाई ऊर्जा, पर्यटन, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरे।

सो अवसरमा अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरूको उपस्थिति थियो।

यसैबीच, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का उप–प्रबन्ध निर्देशक बो लिबीसँग भेटवार्ता गरी नेपालको वित्तीय स्थायित्व, मौद्रिक नीति र भविष्यका सहकार्यका विषयमा विस्तृत छलफल गरेका छन्। उक्त भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसहित दूतावास र कोषका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता थियो।