जेनजी आन्दोलनमा भएको क्षतिको विवरण माग्दै कार्की आयोगको आह्वान
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण माग गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको उक्त जाँचबुझ आयोगले राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूको सम्पत्तिमा क्षति पुगेको भए त्यसको विस्तृत विवरण पेश गर्न आग्रह गरेको हो।
आयोगले क्षतिको विवरण पेश गर्नका लागि विशेष ढाँचा समेत उपलब्ध गराएको छ। उक्त ढाँचामा संघसंस्था, राजनीतिक दल वा व्यक्तिको नाम, ठेगाना, क्षतिको प्रकार, अनुमानित लागत, बीमा अवस्था र कैफियत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माका अनुसार क्षतिको विवरण इमेल वा हुलाकमार्फत पठाउन सकिने छ। शर्माले आयोगले प्राप्त विवरणका आधारमा आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ मूल्यांकन गर्ने बताए।
आयोगले यस अघि पनि सम्बन्धित पक्षहरूलाई सहयोग र जानकारी उपलब्ध गराउन आग्रह गरेको थियो।

