सरकारी सुरक्षा फिर्ता गरेपछि प्रचण्डको सुरक्षा वाईसीएलले सम्हाल्ने

तु खबर संवाददाता
२०८२ आश्विन २४, शुक्रबार १३:५२

काठमाडौँ । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका पूर्वपदाधिकारीहरूको सुरक्षा फिर्ता गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थापन युवा कम्युनिस्ट लिग (वाईसीएल) ले सम्हाल्न थालेको छ ।

गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राख्ने पूर्वप्रधानमन्त्री र अन्य पूर्वपदाधिकारीहरूको सुरक्षा निकायलाई ती जनशक्ति तत्काल फिर्ता बोलाउन निर्देशन दिएको थियो ।

भदौ २३ र २४ गते ‘जेन–जि विद्रोह’का क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, दलका कार्यालय तथा नेताहरूको निजी निवासमा आगजनी भएपछि प्रचण्ड उच्च सुरक्षा घेरामा रहेका थिए । सरकारी सुरक्षा घटाइएपछि वाईसीएलले आफ्नै संरचना प्रयोग गरी प्रचण्डको सुरक्षा सम्हालेको पुष्ट‌ि वाईसीएल गरेको छ ।

‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा जोखिम हुनसक्ने भएकाले आवश्यक संख्यामा वाईसीएल टोली खटाएका बताइएको छ । उनका अनुसार प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपर्ने अवस्थाअनुसार केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएल विशेष टोली परिचालन गरिने व्यवस्था मिलाइएको छ ।

प्रचण्ड निकट स्रोतका अनुसार सुरक्षामा खटिने वाईसीएल सदस्यहरूको संख्या परिस्थिति र जोखिम मूल्यांकनका आधारमा घटबढ गरिनेछ ।