सुनको मूल्यमा ४ हजार २०० ले गिरावट, चाँदी महँगियो
काठमाडौँ । निरन्तर उकालो यात्रा गर्दै आएको सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनसम्म लगातार बढ्दो मूल्यको क्रममा रहेको सुन आज घटेपछि बजारमा केही स्थिरता आउने अपेक्षा गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ । बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढ्दै ३ हजार ८५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
सुनको मूल्य घटे पनि चाँदीमा देखिएको वृद्धि सानो अवधिमा हुने मूल्य उतारचढावको सामान्य क्रम भएको व्यवसायीहरूको भनाइ छ ।
