दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त, नेपालको अवस्था झन् कमजोर

तु खबर संवाददाता
२०८२ आश्विन २१, मंगलवार १५:०८

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। यसअघि ५.२ प्रतिशत हुने अनुमान गरिएको वृद्धिदर अब घटेर २.१ प्रतिशतमा झरेको विश्व बैंकले जनाएको छ। त्यस्तै, आगामी आर्थिक वर्ष २०८३–८४ को वृद्धि दर पनि ५.५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशत प्रक्षेपण गरिएको छ।

विश्व बैंकका अनुसार पछिल्लो समय नेपालको राजनीतिक अस्थिरता र सत्ता परिवर्तनसम्म पुग्ने गरी भएको जेन–जी आन्दोलनले लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको छ। यसले स्वदेशी तथा विदेशी लगानीकर्तामाझ अनिश्चितता बढाएको र व्यवसायिक आत्मविश्वास घटाएको विश्व बैंकको निष्कर्ष छ।

नेपालसँगै भारत र मालदिभ्सको आर्थिक वृद्धि दर पनि घटाइएको विश्व बैंकले जनाएको छ। भारतमा निर्यातमा आएको गिरावट, मालदिभ्समा विदेशी मुद्रा सञ्चितिमा दबाब र नेपालमा राजनीतिक आन्दोलनका कारण यस्तो संशोधन गरिएको हो।

रिपोर्टमा आन्दोलन हुनुका कारणहरूमा शासन प्रणाली प्रतिको असन्तुष्टि, भ्रष्टाचार, उच्च व्यापार लागत, पूर्वाधारको अभाव र सीमित आर्थिक अवसरलाई मुख्य चुनौतीका रूपमा औंल्याइएको छ। यी संरचनात्मक कमजोरीका कारण नेपाल समकक्षी मुलुकहरूभन्दा विकासको गति पछाडि परेको विश्व बैंकले उल्लेख गरेको छ।

विगत १० वर्षमा नेपालको औसत आर्थिक वृद्धि दर ४.३ प्रतिशत मात्रै रहेको र आर्थिक वर्ष २०७९–८० मा युवा बेरोजगारी दर २२.७ प्रतिशत पुगेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ। तर, जलविद्युत उत्पादनमा भएको उल्लेखनीय वृद्धिका कारण आर्थिक वर्ष २०८१–८२ मा नेपालको वृद्धि दर ४.६ प्रतिशत पुगेको थियो, जुन अघिल्लो वर्षको ३.७ प्रतिशतभन्दा माथि हो।

विश्व बैंकका अनुसार दक्षिण एसिया क्षेत्रमा यस वर्ष औसत आर्थिक वृद्धि दर ५.८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ६.६ प्रतिशतभन्दा कम हो।