इलाममा भीषण पहिरो: १८ जनाको मृत्यु, करिब एक दर्जन बेपत्ता

काठमाडौं । पूर्वी नेपालको इलामका विभिन्न स्थानमा ठूलो पहिरो जाँदा करिब एक दर्जन मानिसहरु बेपत्ता भएका छन् । घटनामा हालसम्म १८ जनाको निधन भएको प्रारम्भिक खवर प्राप्त भएको छ ।
भिषण पानी परेसँगै इलाम जिल्लाको मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएका छन् । उच्च पहाडी भुभाग भएकोले उद्धार तथा घटनाको वास्तविकता पत्ता लाग्न केही समय लाग्नेछ । स्थानीयबासीहरुको बस्तीमा पहिरो खस्दा क्षति भएको हो ।
इलाम नगरपालिका वडा नं. ६ मा रहेको एक घर पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा दुई बालबालिकाको मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
साथै तीन जना घाइतेलाई अस्पताल लैजाने तयारी गरिएको छ । यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता भएको स्थानीयबासीको भनाई छ । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् भने माङ्सेबुङमा आज विहानै आएको पहिरोमा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अहिलो घटनास्थलमा प्रहरी सुरक्षाकर्मी पठाएर उद्धार कार्य गर्ने प्रयास भइरहेको छ ।