सवारी खरिदमा ८० प्रतिशत ऋण दिने व्यवस्था कार्यान्वयनमा

तु खबर संवाददाता
२०८२ आश्विन १०, शुक्रबार १४:४६

काठमाडौँ । जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानले सवारी साधन किन्दा अब कुल मूल्यको ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले ल्याएको आर्थिक राहत प्याकेजअनुसार नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको हो ।

हालसम्म विद्यमान प्रावधानअनुसार सवारी साधन खरिद गर्दा अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण लिन सकिने व्यवस्था थियो । त्यसअनुसार ग्राहकले कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । तर जेनजी आन्दोलनका कारण प्रत्यक्ष असर भोगेका उद्योग तथा व्यवसायलाई सहज बनाउन सरकारले गत आइतबार सार्वजनिक गरेको राहत प्याकेजमार्फत यो विशेष सुविधा उपलब्ध गराएको हो ।

यस व्यवस्थाले आन्दोलनका कारण क्षति बेहोरेका उद्योग र प्रतिष्ठानलाई सञ्चालनमा सहज बनाउने अपेक्षा गरिएको छ । नयाँ प्रावधानअनुसार उनीहरूले व्यावसायिक प्रयोजनमा प्रयोग हुने सवारी साधन प्रतिस्थापन गर्दा ऋण–मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सक्नेछन् ।

अटो व्यवसायीहरूले भने यसअघि नै प्रभावित उद्योग मात्र नभई सबै ग्राहकलाई समान रूपमा ८० प्रतिशतसम्म ऋण सुविधा दिनुपर्ने माग गर्दै आएका थिए ।