राजनीतिक कनेक्सनका कारण रोकिएका सबै फाइल खुल्छ :गृहमन्त्री

तु खबर संवाददाता
२०८२ आश्विन १०, शुक्रबार १२:३६

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै अनुसन्धान फाइल खोलिने बताएका छन् । शुक्रबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सुशासनबिनाको शान्ति–सुरक्षा सम्भव नभएको भन्दै भ्रष्टाचार तथा आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा अब कुनै अवरोध नहुने स्पष्ट पारे।

“यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति–सुरक्षा सम्भव छैन । शान्ति–सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न सकिँदैन,” मन्त्री अर्यालले भने।

उनले सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई अवरोध भएका सबै अनुसन्धान फाइल फुकाउन निर्देशन दिएको जानकारी दिए। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई समेत साथमा राखेर उनले अब कुनै पनि अनुसन्धान राजनीतिक वा अन्य दबाबका कारण नरोकिने चेतावनी दिए।